१३ मंसिर २०७७
(Saturday 28 November, 2020)
राजु र शम्भुको न्यायका लागि जनकपुरमा बिशाल विरोध प्रदर्शन, प्रहरी हस्तक्षेपमा २ घाइते
राजु र शम्भुको न्यायका लागि जनकपुरमा बिशाल विरोध प्रदर्शन, प्रहरी हस्तक्षेपमा २ घाइते

१९ असार २०७७, शुक्रबार -

धनुषा । दलित युवाको मृत्यु प्रकरणविरुद्ध जनकपुरमा जनआन्दोलनकै झल्को दिनेगरी विरोध प्रदर्शन भएको छ । धनुषा जिल्लाका राजु सदा र शम्भु सदाको मृत्यु प्रकरण लगायत रुकुम घटनाको विरोध गर्दै दलित संघर्ष समितिले बिहीबार हजारौंको संख्यामा विरोध प्रदर्शन गरेको हो ।

राजुको आइसोलेसनमा छटपटिएर ज्यान गएको थियो भने शम्भुको प्रहरी हिरासतमै मृत्यु भएको थियो । उक्त दुबै घटनाको सत्यतथ्य छानपिन गरी दोषीमाथि कानुनी कारवाहीको माग गर्दै स्थानियहरुले विरोध प्रदर्शन गरेका हुन ।

राजु र शम्भु मृत्यु प्रकरणको सत्य तथ्य छानविन गर, दोषीमाथि कारवाही गर, दलितमाथिको अन्याय बन्द गर, रुकुम नरसंहारमा दोषीलाई हदैसम्मको कारवाही गर, जातिय विभेद तथा छुवाछूत गर्नेविरुद्ध कडा कानुनको ब्यवस्था गर लगायतका नारा लगाउँदै हजारौं स्थानियहरुले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गर्दा केहि प्रदर्शनकारी घाइते समेत भएका छन् । दुईजना प्रदर्शनकारीको टाउकोमा चोट लागेको छ । शान्तिपूर्ण प्रदर्शनलाई प्रहरीले रोक्न खोजेपनि भिड अगाडि बढ्ने क्रममा प्रहरीले अश्रु ग्यास प्रहार गर्दै लाठी प्रहार गरेको दलित अगुवाहरुले बताएका छन् ।

१६ वर्षीय राजुको गत असार ९ गते आइसोलेसनमै छटपिटएर धनुषाको हंसपुर नगरपालिकाका ज्यान गएको थियो भने सवारी दुर्घटनामा ज्यान मुद्दामा पक्राउ परेका शम्भु इलाका प्रहरी कार्यालय सबैलामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पीडित परिवार र दलित अगुवाहरुले शम्भुको आत्महत्या नभइ हत्या भएको बताउँदै न्याय माग्दै आएका छन् ।

प्रदर्शनकारीहरुले रुकुमको सोतीमा जेठ १० गते नवराज विकसहित ६ जना युवाको हत्याकाण्डको पनि विरोध गर्दै दोषीमाथि हदैसम्मको कारवारीको माग गरेका छन् ।

@anamolpost